poem
म
======
म
म युद्धभूमिमा जवानझैँ
भाग्यसँग लडिरहेँ ।
यो मनको घाउ निको पार्दै पर्दै
डाक्टरभन्दा बढी भए ।
पीडा लुकाई मनमै राखी,
ओठमा हाँसो भरी रहेँ ।
यो ओस्कार पाउनेहरूको भन्दा
राम्रो मेरो अभिनय गरिरहे ।
जो आउँछ, ढुटो बजाउँछ,
म मादलको खारी भए ।
म
म गुलेलीको चोट सहेर
उडिरहेकी चरी बनेँ ।
म जिन्दगीको सागर चढ्न
पर्वतारोहीझैँ बनेँ,
तर जति अघि बढिरहेँ
त्यति पछि घिस्रिरहेँ ।
म ऋषि–मुनिको श्रापले
कुरूप भएकी परी भए ।
यो जिन्दगीको ऐना हेर्दा–हेर्दै
हरेक पल्ट मरिरहेँ ।
म सही कि गलत छु भन्दै
आत्मासँग विवाद गरिरहेँ ।
तर आफ्नै मनको अदालतमा
साला, वकिल सरि भए ।
म जिन्दगीको जहाजमा
पाइलट जस्तै बनी रहे,
उडान भर्ने आकाश सधैं
एउटै ठाउँमा अडिरहेँ ।
कहिले आँखामा सपना बोकी
संसारको धनी बनेँ,
कहिले खल्तीमा १०० खुल्ला हुँदा
२०० सय पल्ट गनेँ ।